कोशी प्रदेश मन्त्रिपरिषद् बैठक : ५ लाख मुनीका योजना कार्यान्वयन नगर्ने निर्णय
विराटनगर । कोशी प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत स्वरूप एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । साथै, प्रदर्शनमा घाइते भएका सबैको उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने भएको छ ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बसेको प्रदेश मन्त्रिपरिषद्को १६ औँ बैठकले भ्रष्टाचार उन्मूलन र सुशासन प्रवर्द्धनको माग राख्दै भएको प्रदर्शन र त्यसपछिको परिस्थितिबारे समीक्षा समेत गरेको छ ।
यसैबिच आन्दोलनका क्रममा प्रदेश सरकारका मन्त्रालय, मातहतका कार्यालय, भवन, उपकरण, सवारी साधनलगायतमा भएको समग्र क्षतिको मूल्याङ्कन गर्ने निर्णय पनि बैठकले गरेको छ । जसका लागि भौतिक
पूर्वाधार तथा विकास मन्त्रालयलाई आगामी कार्तिक ९ गतेभित्र क्षतिको यथार्थ विवरण र पुनर्निर्माणका लागि लाग्ने अनुमानित लागतसहितको प्रतिवेदन पेस गर्न निर्देशन दिइएको छ ।
तोडफोड तथा आगजनीबाट क्षति भएका चारपांग्रे र दुईपांग्रे सवारी साधनको अवस्थाबारे असोज मसान्तभित्र प्रतिवेदन पेस गर्न भनिएको छ ।
पुनर्निर्माण र राहतका लागि स्रोत जुटाउन प्रदेश सरकारले तत्कालका लागि ५ लाख रुपैयाँभन्दा कम लागतका सम्पूर्ण पुँजीगत योजनाहरू स्थगित गर्ने निर्णय पनि गरेको छ ।
मन्त्रीपरिषद् बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई तालिम, गोष्ठी, सेमिनारजस्ता कार्यक्रमहरू स्थगित गरी पुनर्निर्माणका लागि स्रोत व्यवस्थापन गर्न गृहकार्य गर्न निर्देशन दिइएको छ ।
बैठकले स्वास्थ्य, सामाजिक विकास, तथा कृषि तथा भूमि सुधार मन्त्रालयमा रहेको अस्थायी दरबन्दीलाई गत आर्थिक वर्षकै आधारमा निरन्तरता दिने निर्णय गरेको छ । बैठकको सुरुमा मुख्यमन्त्री कार्कीले वर्तमान परिस्थितिको बारेमा जानकारी गराएका थिए ।
बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री रेवतीरमण भण्डारीले सरकार नागरिकको जीवनरक्षा र प्रदेशमा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए ।

















