कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’ ले बुझायो निर्वाचन आयोगमा पदाधिकारीको अद्यावधिक विवरण

नागरिक सञ्चार
२६ कार्तिक २०८२, मंगलवार १९:३५

काठमाडौं कार्तिक २५ गते ।  ऊर्जा, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीले आफ्ना पदाधिकारी अद्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ।

कुलमान घिसिङले यसअघि साउनमै जितराम लामाको नेतृत्वमा आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

उक्त दलको पछिल्लो अद्यावधिक विवरणमा पूर्व ऊर्जा सचिव अनुप उपाध्यायलाई अध्यक्ष राखिएको छ। यो दलको चुनाव चिह्न ‘चिम’ रहेको छ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पदाधिकारी हेरफेरका लागि आयोगमा उज्यालो नेपाल पार्टीले निवेदन दिएको जानकारी दिए।

‘कार्यालय समय सकिने बेला उहाँहरूको निवेदन आएको छ। थप हेर्न पाएका छैनौं,’ भट्टराईले भने, ‘निर्वाचन घोषणाअघि नै गत साउनमा उज्यालो नेपाल पार्टी दर्ताका लागि निवेदन परेको छ।’

आयोगले अब दल दर्ताको प्रमाणपत्र दिनुअघि दलका पदाधिकारी तथा केन्द्रीय समितिको सनाखत गराउनेछ। आयोगले धेरै दल दर्ताका लागि निवेदन आएकाले अध्ययन भइरहेको जनाएको छ।

कुलमान घिसिङको समूहले ५१ सदस्यीय केन्द्रीय समिति रहने गरी दलको अद्यावधिक विवरण आयोगमा पठाएका हुन्।

कुलमान अहिलेसम्म यो पार्टीमा आधिकारिक रूपले सक्रिय भइसकेका छैनन्। उनी केही समयपछि औपचारिक रूपमा सक्रिय हुने पार्टीका एक सदस्यले जानकारी दिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*