पौने एक करोडको क्षति
ताप्लेजुङ, भदौ ३१ गते। जेएन जी आन्दोलनको क्रममा ताप्लेजुङका चार राजनीतिक दलका कार्यालयहरुमा ८३ लाख ८९ हजार पाँच सय ३० रुपैयाँ बरबरको क्षति पुगेको विवरण बुझाएका छन् ।
नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा (माओवादी) केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीले क्षति विवरण बुझाएको हो । नेकपा एमालेले ५२ लाख ४० हजार रुपैयाँ बराबरको क्षति विवरण पेश गरेको छ । आफ्नै भवन रहेका मदन–आश्रित स्मृति प्रतिष्ठान रहेको छ । नेपाली काँग्रेसले ११ लाख ६० हजार रुपैयाँ बराबर र माओवादी केन्द्रले २ लाख ५२ हजार ५० रुपैयाँ बराबर क्षति विवरण बुझाएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले भने ७० हजार रुपैयाँ बराबर क्षति विवरण बुझाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी गराएका छन् । क्षति विवरणमा भवनको ढोका, सिसा फुटाएको, पेन्टिङ बिगारेको, कम्प्युटर, प्रिन्टर, कुर्सी, टेबुलमा क्षति पुर्याएको, पार्टीको नाममा भएका सम्पत्ति तोडफोड गरेको, भवनमा पर्खालमा लेखोट लेखिएको, भवनभित्र रहेका सम्पूर्ण सामग्री क्षति पुर्याएको लगायतका विवरणमा उल्लेख गरिएको छ । माओवादी केन्द्रले भने आफ्नो फेसबुक पेजमार्फत यस सम्बन्धमा जानकारी दिंदै आन्दोलनकारीले तोडफोड गर्दा आफ्नो कार्यालयमा क्षति पुगेको र यसमा संलग्न सबैलाई प्रहरी प्रशासनले नियन्त्रणमा लिएर कारबाही गर्न माग गरेका छन् ।
प्रहरीले भने अहिलेसम्म अन्यबाट क्षति विवरण प्राप्त नभएको बताएको छ । उक्त अवधिमा फुङलिङ नगरपालिका, पाथीभरा मन्दिरमा रहेको स्वास्थ्य सहायता केन्द्र र माथिल्लो तमोर जलविध्दुत आयोजनाको एउटा भवनमा आगजनी भएको थियो । यस्तै नगरप्रमूख अमिर मादेनको घरमा समेत आक्रमण भएको प्रहरीले अभिलेखमा देखिएको छ । यस्तै सिदिङ्वा गाउँपालिकाको कार्यालय तोडफोड तथा कागजात लगिएको गाउँपालिकाका अध्यक्ष मान बहादुर राईले बताउनु भयो । यसमा को संलग्न छन भन्ने बारे खोजि भइरहेको गाउँपालिकाले जनाएको छ । यता फुङलिङ नगरपालिकाले करिब साढे ५ करोड हाराहारी क्षति भएको अनौपचारिक रुपमा बताउँदै आएको छ ।
सार्वजनिक प्रदर्शन, हुलदंगा तथा विरोधका कार्यक्रमबाट हुने क्षतिको मूल्याङ्कन सम्बन्धी कार्यविधि २०८१ अनुसार जिल्ला स्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन हुने व्यवस्था रहेको छ । सोही कार्यविधिको परिच्छेद ४ (७) अनुसार सहायक प्रजिअको संयोजकत्वमा प्रहरी निरीक्षक, सरकारी वकिल कार्यालयको अधिकृत स्तरको प्रतिनिधि, कोष नियन्त्रक, प्रमूख जिल्ला अधिकारीले तोकेको अधिकृत स्तरको दुईजना प्राविधिक र सबन्धित स्थानीय तहको अधिकृत स्तरको कर्मचारी सदस्य रहेको क्षति मूल्याङकन समिति रहने व्यवस्था रहेको छ ।
कार्यविधि अनुसार गठन समितिमा संलग्नता तथा सहायक प्रमुख जिल्ला अधिकारी सन्दीप खड्काको समितिले धमाधम काम अघि बढाइरहेको जानकारी दिनु भयो । समितिले क्षति भएको स्थलको अवलोकन तथा निरीक्षण गर्ने, हानी नोक्सानी भएको सम्पत्ति विवरण तथा सो सँग सम्बन्धित तथ्य प्रमाण संकलन गर्ने तथा गराउने क्षतिको विवरण एकिन गर्न सम्पत्तिको स्वामित्व भएको व्यक्ति, संघसंस्था, निकाय, पदाधिकारी वा आवश्यक व्यक्तिसँग सोधपुछ छलफल तथा लिखित प्रतिवेदन समेत माग गर्ने काम गर्न सक्ने प्रावधान रहेको छ ।

















