‘कुल बुट’ नचल्दा किवी कुहियो : लाखौँको लगानी स्वाहा

नागरिक सञ्चार
३ आश्विन २०८२, शुक्रबार १४:५४

इलाम, असोज ३ गते । माइजोगमाई ५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रको दश लाख अनुदान सहयोगमा शीत भण्डार गृह (कुल बुट) बनाए । आफ्नो बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मको तीन लाख ३४ हजार थप लगानी गरेर बनाएको कुल बुट सञ्चालन गरी किवी भण्डार गर्ने उनको योजना रहेको थियो ।
२०७९ चैत्रमा कुल बुट बनाएका उनले आफ्नो बारीमा उत्पादन भएको किवी र अन्य गाउँको समेत भेला गरेर कुल बुटमा राखे । तर लाखौँ लगानीमा बनाएको कुल बुट मा मेसिनले चिसो हावा फाल्नुको साटो तातो हावा फाल्न थाल्यो । भण्डारण गरी राखिएको किवी बिग्रियो । किवी फल बिग्रन थालेपछि कोसेलीको रूपमा बाँडेर सकिएको फर्मकी रुपा बुढाथोकी बताउँछिन् । आफ्नो बारीमा उत्पादन भएका किवीले सोचेजस्तो आम्दानी नदिएको र कुलबुटमा थप लगानी फसेपछि जीवन भने हाल वैदेशिक रोजगारीमा रहेका छन् ।
निर्माण भएपछि सुरुमै सञ्चालन गर्न कठिनाइ भएको कुल बुट एक पटक मर्मत गर्न निर्माण कम्पनीलाई लगाएको बुढाथोकी बताउँछिन् । त्यसपछि झनै बिग्रिएको कुल बुट हालसम्म बेवारिसे अवस्थामा रहेको छ । जिल्लाका अगुवा किवी किसानलाई किवी भण्डार गर्न अनुदान दिई बनाइएका यस्ता दर्जन कुल बुटको हालत लगभग उस्तै रहेको छ । मर्मत पछि केही सञ्चालन भएका पाइएको छ । तर किवी राख्न बनाइएका कुल बुटमा किवी भने बिग्रने गरेको छ ।
इलामका किवी उत्पादक किसानले कृषि ज्ञान केन्द्र र किवी जोन परियोजना मार्फत अनुदानमा कुल बुट बनाएका हुन् । जिल्लाभर करिब १२ वटा कुल कुट मध्ये आधा पनि सञ्चालन हुन सकेको छैन । निर्माण कम्पनीको लापरबाहीले लाखौँ लगानीमा बनाइएको यस्ता भण्डारमा राखिएको किवी बिग्रने र काम नलाग्ने भएको किसानले बताएका छन् । किवी फलको सिजन सुरु भए पनि भण्डारण गर्न नपाउँदा किसान मारमा परेका छन् । इलाम नगर पालिका ५ का महानन्द ओझाले पनि अनुदानमै यस्तो कुल बुट बनाएका छन् । तर किवीको खस्कँदो बजारले किवी बगान मासेको बताए । पटक पटक अनुरोध गर्दा मर्मत गरिएको कुल बुट सञ्चालन भएको छैन । सन्दकपुर गाउँपालिकामा रहेको किवी जोन परियोजना कार्यालयमा एक कुल बुट जडान गर्ने भनिएकोमा हालसम्म पनि उक्त कुल बुट प्रयोगमा आउन सकेको छैन । तत्कालीन किवी जोन परियोजनाले यो गाउँपालिका मार्फत जडान भएको जनाएको छ । जडान गरिएका उपकरण कार्यालयमा अलपत्र अवस्थामा रहेको छ ।
परियोजना र ज्ञान केन्द्र दुवैले रिदम एण्ड रिभर्स विल्डर्सलाई कुल बुटको निर्माण जिम्मा दिएका थिए । विल्डर्सले दुवै कार्यालय मार्फत कुल बुट बनाएको थियो । तर कम्पनीले कोदाली भेन्चरको नाममा किवी अगुवा किसानहरूसँग कुल बुट बनाउने सम्झौता गरेको पाइएको छ । कम्पनीका गौरव दासले किसानको अनुरोधमा पटक पटक मर्मतका लागि आएको बताए । उनले एक कर्मचारी अझै पनि इलाममै रहेर सेवा दिएको बताए । किवी किसानहरूले भने पुरानो सामग्री जडान गरेकाले आफ्नो कुल बुट नचलेको आरोप लगाए । मर्मतका लागि पटक पटक बोलाए पनि ठेक्का अनुसार मर्मतको समय गुजारेर आलटाल गरेको आरोप किसानहरूको छ । कम्पनीले तत्कालीन किवी जोन परियोजना र कृषि ज्ञान केन्द्र मार्फत इलामका सबै कुल बुट निर्माणको जिम्मा लिएको थियो । मर्मत समय गुजारेर कम्पनीले मर्मतका आलटाल गरिरहेको किसानहरूले आरोप लगाएका छन् । यता प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको नाम परिवर्तन भएर अहिले राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम राखिएको छ । भने किवी जोन परियोजनाको अवधि समाप्त भएको छ ।
तत्कालीन किवी जोन परियोजना अन्तर्गतको संयोजक रहेका गङ्गा विष्टले आफ्नो कुल बुटमा पनि पहिले पुरानो सामान जडान गरिएकोले हाल नयाँ उपकरण जडान गरी सञ्चालनमा ल्याएको बताए । उनले गाउँघरमा विद्युत् आपूर्ति नियमित नहुँदा कुल बुट सञ्चालनमा कठिनाइ भएको जानकारी दिए । माइजोगमाईका टेक बहादुर खड्काले पटक पटक कुल बुटमा समस्या देखिएको खबर गर्दा पनि कम्पनीले चासो नदेखाएको बताए । निर्माण कम्पनीका गौरव दासले जिल्लामा जडान गरिने कुल बुट जडान गर्ने काम हत्याउन कर्मचारीको प्रयोग गरेको बताइएको छ । इलामको सन्दुकपुर ३ तालगाउँका किसान रुद्र खतिवडाले पहिलो वर्ष कुल बुट सञ्चालन भएको र हाल कुल बुटमा किवी राख्नु नपरेकाले सञ्चालन नभएको बताए । उनले कम्पनीले नयाँ सामग्री जडान गरिदिने भनेको बताए । खतिवडाले जतन पूर्वक भण्डारण गरेमा कुल बुटमा तीन महिनासम्म किवी राख्न सकिने बताए । तर प्रयोगमा नआएको कुरा स्वीकार गरे ।
जिल्लामा धेरै परिमाणमा किवी उत्पादन हुँदै आए पनि भण्डारण नहुँदा बजारमा मूल्य नपाउने समस्या रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*