जंगीअड्डा होइन लोकतन्त्रको आँगन

युग पाठक
३१ भाद्र २०८२, मंगलवार १६:३५

भदौ २३–२४ को जेन–जी विद्रोहपछि मुलुक एकाएक संकटग्रस्त हुन पुगेको छ । संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवनलगायत राज्यका खम्बाहरू खरानी बनाइएको छ । भवन सँगसँगै ती संस्थाहरू पनि धराशायी अवस्थामा छन् । देश सरकारविहीन छ, सडक सेनाको नियन्त्रणमा छ र जनजीवन कर्फ्युको घेराभित्र त्राहिमाम् छ ।
राजनीति मात्र होइन, देशको आर्थिक संरचना पनि ध्वस्तप्रायः छ । आपसी विश्वासको धागो टुटेको जस्तो, सबैले सबैलाई शंकाको नजरले हेरिरहेजस्तो, सामाजिक मनोविज्ञानमा सल्किएको आगो झनै खतरनाक देखिन्छ । आखिरमा देश भनेको के हो ? भूगोलको सीमाले भन्दा धेरै विचारको धागोले गाँसिएका जनताको साझा तागत न हो । सीप र सेवा, उत्पादन र व्यापार, प्रत्येक गाउँसहर तथा संघसंस्थाको नेतृत्व र सहकार्य, ज्ञान र अनुभवको निरन्तर आदानप्रदान र विकास, यस्तै–यस्तै प्रक्रियाको साझा थलो नै देश हो ।
जनताको सबै साना–साना सामूहिक प्रयत्नहरूलाई बृहत्तर रूपमा जोड्न र समन्वय गर्न राज्य बनेको छ । त्यसैले राज्य चलाउने भनेको देश चलाउने कुरा हो । बिनामियोको दाइँ हुँदैन भनेझैं बिनाराजनीतिको राज्य हुँदैन । त्यसैले एक झट्कामा सरकार पतन हुने स्थिति आउँदा देश नै संकटमा पर्ने रहेछ । आपसी विश्वासको धागो चुँडिएझैं हुँदोरहेछ, सामाजिक जीवन अनिश्चयको भुमरीमा फँस्दोरहेछ । अहिले हामीले भोगिरहेको त्रासदी त्यही हो ।
यो त्रासदीबाट मुक्त भएर फेरि सामान्य जीवनमा फर्कन पनि पहिलो गाँठो राजनीतिकै सुल्झाउनुपर्‍यो । लोकतान्त्रिक प्रणालीमा राजनीतिको जिम्मा लिने धरोहर भनेको राजनीतिक दलहरू नै हुन् । जेन–जी विद्रोहले तिनै दलहरूलाई किनारामा धकेलिदियो, प्रतिरक्षात्मक बनाइदियो । रातारात जननिर्वाचित संसद् नै कोमामा पुग्यो । यस प्रकार राजनीति फटाकसे हुत्तिएर सेनाको पटांगिनीमा पुगेझैं भयो ।
जंगीअड्डामा राजनीतिको भविष्य कोर्ने क्याम्पफायर चलिरहेझैं देखियो । राष्ट्रद्रोहको मुद्दा चलिरहेका दुर्गा प्रसाईं जस्ता असान्दर्भिक व्यक्तिसँग भेटेको तथ्य सार्वजनिक भयो । समाजलाई पछाडि लैजान चाहने यस्तै अरू पक्षसँग पनि भेटेको हुन सक्ने आशंका बढेको छ । जबकि, ती जेन–जी विद्रोहको सरोकारवाला र सहयात्री होइनन् । यहाँसम्म आइपुग्दा जेन–जीको कभरमा झोसिएको आगो लोकतन्त्रमा त झोसिएको थिएन भन्ने गम्भीर प्रश्न खडा भएको छ ।
लोकतन्त्रका धरोहर संस्थाहरू सिंहदरबार (कार्यपालिका), संसद् भवन (व्यवस्थापिका), सर्वोच्च अदालत (न्यायपालिका) मा सल्काइएको आगो कतै संघीय लोकतान्त्रिक गणतन्त्रमा त सल्काउन खोजिएको थिएन ? सीमान्तकृत समुदाय, महिला, दलित, अल्पसंख्यक, आदिवासी, मधेशी, थारू आदिको समानुपातिक र समावेशी अधिकार ग्यारेन्टी गर्ने संविधानमा त कतै त्यो आगो हुरहुरी पार्न खोजिएको थिएन ? कोतपर्वको रगताम्य पटांगिनीबाट सत्ता हत्याउने जंगबहादुर राणाको नाममा राखिएको र अझैसम्म जंगीअड्डा भन्ने गरिएको सैनिक मुख्यालयको बैठक कोठामा आखिर के खिचडी पाकिरहेको छ ?
जेन–जी विद्रोहका एजेन्डा
जेन–जी शब्द अहिले मुखमुखमा झुन्डिएको छ । आखिर जेन–जी हुन् को ? जेनेरेसन जेड (अंग्रेजी वर्णमालाको अन्तिम अक्षर जेडबाट नाम राखिएको ‘जेड–पुस्ता’) लाई छोटकरीमा जेन–जेड र प्रविधिको भाषामा जेन–जी भनिएको यो पुस्तालाई सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मिएको पुस्ता मानिएको छ ।
डिजिटल प्रविधि, मोबाइल, सामाजिक सञ्जाल र इन्टरनेटमा अभ्यस्त मानिएको यो पुस्ता आखिरमा सामाजिक सञ्जाल बन्द गर्ने सरकारी निर्णयबाट रिसायो भनिन्छ । जस–जसले जुन–जुन कुनामा बसेर टिकटक तथा अरू सुचारु सञ्जालबाट आह्वान गरेको भए पनि जेन–जी आन्दोलनको एजेन्डा भ्रष्टाचारको विरोध, सुशासन, नातावाद/कृपावादको अन्त्य र सामाजिक सञ्जाल सुचारु हुनुपर्ने नै थियो ।
सरकारी बन्दुकले कलिला युवाको हत्या गरेपछि आन्दोलनले अचानक विद्रोहको रूप लियो । त्यो विद्रोहले मुलुकमा स्थापित राजनीतिक संस्थापनलाई नै तहसनहस पारिदियो । जेन–जी आन्दोलनको कुनै देखिने संगठन थिएन, नेतृत्वको अनुहार थिएन र सबैभन्दा महत्त्वपूर्ण कुरा कुनै वैचारिक स्वरूप थिएन । तसर्थ देशको संस्थागत स्थापत्य नै खरानी भइसकेपछि वार्तामा बस्नका लागि ऊसँग कुनै स्पष्ट वैचारिक खाका पनि थिएन ।
आन्दोलनको मुख्य एजेन्डा नै नीतिगत र विधिगत भएको हुनाले विद्यमान संविधानमा अन्तरनिहित दर्शन र विचारलाई नै जेन–जी प्रतिनिधिहरूले आत्मसात् गर्नु एक मात्र उपाय रहन गएको छ । तर, घटनाक्रमलाई केलाएर हेर्दा केही आश्चर्यजनक राजनीतिक मोडहरू जेन–जी आन्दोलनले सामना गर्नुपरेको र गरिरहेको देखिन्छ । जेन–जी आन्दोलनमा एक पाइला नहिँडेका र फेसबुकको भित्ताबाट निस्केर जनताको घरदैलोमा कहिल्यै नपुगेका बालेनले सिंहदरबारमा आगो झोसिँदाझोसिँदै संसद् विघटन र सेनापतिसँग वार्ता गर्ने आदेश आन्दोलनकारीलाई किन दिए ? कुन वैचारिकीमा टेकेर दिए ?
त्यसपछि नै होइन राष्ट्रपतिबाट जारी हुनुपर्ने विज्ञप्ति सेनाले जारी गरेको ? यो त्रासदीको बीचमा जनतालाई आश्वस्त पार्न राष्ट्रपतिले गर्नुपर्ने सम्बोधन सेनापतिले गरेको पनि त्यसपछि नै होइन ? राज्यका प्रमुख अंग जोगाउन र सम्हाल्न अघि नसरेको जंगीअड्डा अचानक राजनीति सम्हाल्न कसरी अघि सर्‍यो ? के देशमा संकटकाल घोषित छ ? कुनै वैधानिक प्रक्रियाबिनै जंगीअड्डाले राज्य नै सम्हाल्ने वैधानिकता कहाँबाट पायो ?
केवल भ्रष्टाचारको विरोध मात्र होइन, त्योभन्दा धेरै गहिरा सामाजिक मुद्दाहरू जेन–जीले सधैंभरि उठाइरहेका छन् । उनीहरू जात व्यवस्था भत्काउने दलित मुक्तिको मुद्दामा पनि सक्रिय छन् । उनीहरू पितृसत्ताको जन्जिर तोडेर महिला समानता स्थापित गर्ने मुद्दामा पनि लडिरहेका छन् । जनजाति, आदिवासी, मधेशी, थारूलगायत अल्संख्यक र सीमान्तकृत समुदायलाई विभेदबाट मुक्त गर्ने र राज्यको मूलधारमा ल्याउने एजेन्डामा पनि उनीहरूको निरन्तर योगदान छ ।
गरिब जनताको आर्थिक अधिकार स्थापित गर्ने मुद्दामा पनि जेन–जी छन् । संकटमा धकेलिएको समाजको मुख्य उत्पादन प्रणाली कृषिको उन्नयनमा लागेका जेन–जीसँग पनि संगत गर्ने मौका मिलेको छ । संविधान संशोधन गरेर जनतालाई अझै शक्ति सम्पन्न बनाउने र राज्यलाई जनमुखी बनाउने मुद्दामा पनि जेन–जी बुलन्द छ ।
तथापि जेन–जी घरघरै छन् र सबै प्रकारका विचार बोक्ने जेन–जी हुनु अनौठो भएन । अहिले प्रस्ट देखिएको छ– जेन–जी विद्रोहलाई प्रतिगमनको हतियार बनाउन कसरी राजावादी जेन–जी, प्रसाईं गुटका जेन–जीलगायत खुलमखुला लागेका छन् ।
जेन–जीका भर्चुअल बैठकलाई पनि लोकतन्त्र अपहरण गर्ने औजार बनाउन तिनीहरूले कुनै कसर बाँकी राख्ने छैनन् । यसैबीच जंगीअड्डाले अपारदर्शी वार्तामा कुन–कुन जेन–जीसँग के–के कुरा गरिरहेको छ, त्यो सार्वजनिक गरिएको छैन । जेन–जीको लस्कर जो न्यायपूर्ण समाज निर्माणमा सधैंभरि लागेको छ, कुनै विचारहीन बहकाउमा परेर उत्तेजना मात्रै बाँडिरहेको छैन, त्यो नै भविष्यको असली हकदार हो । जेन–जी विद्रोहको वास्तविक वाहक पनि त्यही हो ।
जंगीअड्डाको बाघचाल
यी पंक्तिहरू लेख्दासम्म राष्ट्रपतिलाई सार्वजनिक गरिएको छैन । संविधानको दायराभित्रैबाट समाधान निकालिने आशयको एउटा छोटो विज्ञप्ति मात्र राष्ट्रपतिका नाममा जारी गरिएको छ । राष्ट्रपतिलाई सार्वजनिक गर्न व्यापक आवाज उठेपछि त्यतिसम्म भएको हो, अझै पनि राष्ट्रपति संस्थाको भूमिकालाई नेपथ्यमै कैद गरिएको छ । के राष्ट्रपतिलाई अघोषित नजरबन्दमा राखेर जंगीअड्डाले बाघचाल खेलिरहेको हो ? यो प्रश्न सबैभन्दा धेरै संवेदनशील भएर जेन–जीका प्रतिनिधिहरूले उठाउनुपर्ने बेला भएको छ ।
इतिहासको कठघरामा जेन–जीका प्रतिनिधिहरू पनि छन् । आन्दोलनका सहिदहरूको रगत आलै छ । घाइतेहरू अस्पतालमै छन् । सहिद परिवारको आँसु रोकिएको छैन र सरकारविहीनताले राहतका दुई थुंगा फूल उनीहरूको घरसम्म पुर्‍याइदिने कुनै हात पनि सम्भवतः उनीहरूले देख्न पाएका छैनन् । अग्निवाहक हुलदंगाकारीहरूले झोसेको आगोमा जिउँदै परेका निर्दोष व्यक्तिहरूको चीत्कार पनि अझैसम्म गुन्जिरहेकै छ । उनीहरूका परिवार पनि यो त्रासदीबाट बाहिर निस्कन सकेका छैनन् ।
हजारौं घर र व्यापारिक संरचनामा झोसिएको आगोको झिल्का र खरानीको थुप्रोले पनि चिच्याइचिच्याइ प्रश्न सोधिरहेका छन् । यी सबै रगत, आँसु र चिच्याहटको जवाफ जंगीअड्डाको क्याम्पफायरमा बाघचाल खेलेर रच्न सकिएला ? स्वभावैले जंगीअड्डा धेरै बोल्दैन । लोकतन्त्र सार्वजनिक संवादबाट अभ्यास गरिने व्यवस्था भएकाले पनि जंगीअड्डाको स्वभावसँग त्यो मेल खाँदैन । त्यसो त राजनीतिका निम्ति सेना बनाइएको पनि होइन, राज्यको सुरक्षाका निम्ति जनताको करले पालेर राखिने संस्था हो ।
यो संकटको क्षणमा सुरक्षा व्यवस्थाको जिम्मेवारी उठाउनु उसको दायित्व हो । चाहे ऊ अग्निदहनको दिन चुकेको किन नहोस्, सधैं उसले क्षमा पाउँदैन । किनभने राज्य धराशायी भएको दिन उसको अस्तित्वसमेत समाप्त हुन्छ । राज्यलाई पुनः संवैधानिक व्यवस्थामा फर्काउन पहल गर्नु नै उसको प्राथमिक दायित्व हो । त्यसैले उसले जंगीअड्डामा बाघचाल आयोजना गरेर बस्न मिल्दैन ।
अन्ततः जंगीअड्डा लोकतन्त्रको आँगन होइन र हुन सक्दैन । बन्दुकको घेरामा जनताले स्वतन्त्रता र सार्वभौमसत्ताको अभ्यास गर्न सक्दैनन् । त्यसैगरी जेन–जी वार्ताकारहरूले पनि जंगीअड्डामा विद्रोहको सार्वभौमसत्ता अभ्यास गर्न सक्दैनन् । अनि, यो विद्रोहको सार्वभौमसत्ता यतिखेर सम्पूर्ण जनताको सार्वभौमसत्तासँग अन्योन्याश्रित ढंगले जोडिएको छ ।
संविधानको बाटो
संविधान फगत एउटा किताब होइन । संविधानका प्रत्येक अक्षरमा जनताको बलिदानीको इतिहास छ, सुकेका रगतका छिटाहरू छन्, संघर्षका सुस्केराहरू छन्, यातनाका यामहरू छन्, सपनाका केस्राहरू छन्, आशाका ब्याडहरू छन् र छन् भविष्यका खेस्राहरू । न यो सजिलै बनेको हो, न यसलाई सजिलै भत्काउन सकिन्छ । संविधान बनाउँछ दर्शनले र त्यो दर्शनमा लाखौं मान्छेहरूको आस्था बसेको हुन्छ । संविधान अवश्य पनि अकाट्य हुँदैन, फेर्न पनि सकिन्छ । तर त्योभन्दा समुन्नत दर्शनले मात्रै, त्योभन्दा समुन्नत विचारले मात्रै र त्योभन्दा समुन्नत प्रक्रियाले मात्रै ।
अहिले उत्पन्न भएको परिस्थिति भनेको सरकारविहीनताको हो, संविधानविहीनताको होइन । त्यसैले संविधानको परिकल्पनाअनुसार नै संकटका बेला राष्ट्रपति संस्थाको पहलमा संवैधानिक प्रक्रियाबाटै निकास निकाल्ने हो । जंगीअड्डाको पटांगिनीमा कुनै निकास निस्कन सक्दैन । न त किस्तीमा प्रधानमन्त्री र मन्त्री पद बाँड्न जंगीअड्डाले कुनै अख्तियार पाएको छ । तानाशाही र निरंकुशतन्त्रले किस्तीमा पद बाँडेर कठपुतली सरकार चलाउने प्रयत्न इतिहासमा पटकपटक गरेकै हो ।
त्यस्तै तानाशाही र निरंकुशतन्त्रले संस्थागत गरेको भ्रष्टाचार र कुशासनले नै हामीलाई अहिलेसम्म सताइरहेको हो । त्यस्तै निरंकुशतन्त्रहरूले संस्थागत गरेको परिवारवाद, नातावाद, कृपापादको चंगुलबाट निस्कन नसक्दा अहिले प्रमुख दलहरू संकटको भुमरीमा फसेका हुन् । त्यस्तै निरंकुशतन्त्रले संस्थागत गरेको विकास र अर्थतन्त्रको विचारमा फस्दा हाम्रो आर्थिक प्रणालीमा जनताको सहभागिता र सिर्जनात्मकता पैदा हुन नसकेको हो ।
त्यसैले संविधान भत्काउन खोज्नेहरूले बुझ्नुपर्छ, यो आस्थाको धरोहर भत्काउन खोज्नेहरूले इतिहास र जनताको कठघरामा छिटै उभिनुपर्ने छ । सहिदको रगतको मूल्यमा कुनै कठपुतली सरकार जंगीअड्डाले बनाउने र विद्रोहको बाहनामा संवैधानिक संस्थाहरूलाई कुल्चिएर शासन चलाउन खोज्ने कुनै पनि प्रयत्नलाई जेन–जी प्रतिनिधिले औंठाछाप लगाउने कुरा झन् ठूलो विद्रोहको शंखघोष मात्रै हुनेछ । त्यसैले संविधानका विशेषतालाई अक्षुण्ण राख्दै निकास निकाल्नका लागि राष्ट्रपति संस्थाले तुरुन्तै पहल लिनुपर्छ ।
राष्ट्रपतिलाई अँध्यारो कोठामा थुनेर उनका नाममा निकालिने कुनै विज्ञप्तिको खासै अर्थ छैन । यदि यो ‘कू’ होइन भने राष्ट्रपतिलाई तुरुन्त सार्वजनिक गरिनुपर्छ र उनको राजनीतिक पहललाई जनताको अघिल्तिर प्रत्यक्ष प्रसारण गरिनुपर्छ । राजनीति विचारले चल्छ, उमेरले चल्दैन । अहिले अँध्यारा कुनामा भइरहेका षड्यन्त्र र सत्ता कब्जा गर्ने कुटिल चाल पनि विचारकै रस्साकसी हो, फरक यत्ति हो कि त्यो प्रतिगमनकारी, निरंकुश र तानाशाही सत्ता फिर्ता ल्याउने विचारको मोर्चा हो ।
हेक्का रहोस्, त्यो मोर्चाले जेन–जी र उनकै घरमा भएका तीन पुस्ताकै अधिकार र स्वतन्त्रता खोस्ने प्रयत्न गरिरहेको छ । त्यो प्रयत्नलाई असफल पार्ने हो भने संविधानको जगेर्ना गर्नु जरुरी छ । हिजो जागेको जेन–जी, आज विचारको स्पष्टतासहित झन् धेरै जाग्नुपर्ने अवस्था छ ।
राजनीतिक वार्ता र निकासको सम्पूर्ण पहललाई जंगीअड्डाको पटांगिनीबाट लोकतन्त्रको आँगनमा ल्याउन जनता जाग्ने बेला आएको छ । निराशा र आक्रोशको चरण अब सकियो, जागरण र पुनर्निर्माणको चरण सुरु भयो । यहाँनेर जनता चुक्नु भनेको इतिहास चुक्नु हो । आगोको मुस्लोमा अर्थतन्त्रको ठूलो पैमाना डढिसकेको छ, अब देशको अर्थतन्त्र र समाजको आत्मबल जोगाउने हो भने संविधान र राजनीति जोगाउन जरुरी छ । खरानीको थुप्रोबाट नयाँ नेपालको सपना जोहो गर्ने बेला, हामी जाग्नैपर्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*