जेन-जीको प्रदर्शनमा कलाकारहरूको समर्थन

नागरिक सञ्चार
२८ भाद्र २०८२, शनिबार १७:१०

काठमाडौ ।  सोमबार जेन-जी पुस्ताले गर्न लागेको प्रदर्शनमा कलाकारहरूले समर्थन जनाएका छन्।

फिल्म निर्दैशक तथा अभिनेता निश्चल बस्नेतले टिकटकमा एक भिडिओ सार्वजनिक गर्दै आफू जेन-जीको साथमा रहेको बताएका छन्।

उनले जेन-जी पुस्ता भ्रष्टाचारलाई लिएर निराश रहेको उल्लेख गर्दै भविष्यलाई लिएर चिन्तित रहेकाले यो कदम उठाएको बताएका छन्।

देशको कानून निसहाय र गरिब जनताको लागि मात्र लागू भएको उल्लेख गरेका छन्।

उनले भनेका छन्, ‘जुन सोसल मिडियाको माध्यमबाट मान्छेहरूले अभिव्यक्ति राख्थे, निराशाहरू पोख्थे। त्यो नै बन्द गरिदिएपछि यो हुनु नै थियो। देशमै बसिरहेका युवाहरू, जसलाई आफ्नो भविष्यको चिन्ता छ उनीहरूले आफ्नो भविष्यका लागि यसो गरिरहेका छन्।’

निश्चलले आफू जेन-जीको प्रदर्शनमा सहभागी हुने समेत बताएका छन्।

यस्तै, अभिनेता अनमोल केसीले पनि जेन-जीको प्रदर्शनमा एक्येबद्धता जनाउँदै ‘हाम्रो अधिकार कोही रोक्न सक्दैन’ भनेका छन्। उनले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्, ‘हामी नेपाली नागरिकहरू चुप लागेर बस्दैनौं। सामाजिक सञ्जाल रोकेर सिर्जनशिलता, स्वतन्त्र अभिव्यक्ति र हाम्रो आवाजलाई दबाउन खोजिन्छ भने हामी अझ ठूलो आवाजमा उठ्छौं।’

उनले थप लेखेका छन्, ‘हाम्रो अधिकार कोही रोक्न सक्दैन। हाम्रो आवाज दबिँदैन।’

अर्का अभिनेता पल शाहले अभिव्यक्ति स्वतन्त्रता खोस्ने, सामाजिक बन्द गर्ने निर्णयहरूलेले स्थिति झन् गम्भीर बनाएको बताएका छन्। उनले शान्तिपूर्ण प्रदर्शन गर्न जेन–जी पुस्तालाई आग्रह समेत गरेका छन्।

‘कमेडी नाइट्स विथ च्याम्पियन्स’ का निर्देशक तथा उद्घोषक विशाल भण्डारीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगाउने कदमको बिरोध गरेका छन्।

उनले आफूहरूको टिमभित्रका जेन जी उमेर समूहका कलाकारहरू भोलिको आन्दोलनलाई समर्थन गर्दै सहभागि समेत हुने बताएका छन्।

अभिनेत्री केकी अधिकारी, निर्देशक सन्तोष सेनलगायतका थुप्रै कलाकर्मीले पनि भ्रष्टाचारविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै पोस्टर सेयर गरेका छन्।

जेन-जी पुस्ताले सोमबार बिहान ९ बजेदेखि काठमाडौंको माइतीघरमा प्रदर्शन गर्ने तयारी छ।

जेनजी पुस्ताले आन्दोलन गर्ने भनेर केही दिनदेखि सामाजिक सञ्जालमार्फत आह्वान गर्दै आएका छन्।

उनीहरूले सरकारले सामाजिक सञ्जाल बन्द गरेको र भ्रष्टाचारविरूद्ध प्रदर्शन गर्न लागेका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*