इलाममा कर्फ्यू : कार्यालयहरुमा तोडफोड
इलाम, भदौं २४ गते । जेन जी आन्दोलनका क्रममा मंगलबार इलाममा प्रदर्शनकारीहरुले जिल्ला प्रशासन कार्यालयमा तोडफोड गरेका छन् । यसै क्रममा इलामको इलाम नगरपालिका कार्यालय, नेकपा एमाले र नेपाली काँग्रेसको पार्टि कार्यालयमा तोडफोड र आगजनी भएको छ । प्रदर्शनकारीहरुले आज विहान ११ बजेदेखि इलाम चोक बजारबाट प्रदर्शन गर्दै इलाम बजार परिक्रमा गरेका थिए । पार्टि कार्यालयका विभिन्न फर्नीचर र अन्य सामग्रीहरु प्रदर्शनकारीले इलाम चोक बजारमा ल्याएर आगजनी गरेका छन् । यस्तै इलाम चोक बजारको प्रहरी कार्यालयमा पनि तोडफोड गरेका छन् ।
प्रदर्शन पछि तोडफोड भएपछि प्रमुख जिल्ला अधिकारी बाट आजै दिउसो २ः ३० बजेदेखि करफ्यू आदेश जारी भएको हो । इलामको पुर्वमा जिरो प्वाइन्ट, पश्चिममा फूलगाछि , उत्तरमा चुरेघाँटी र दक्षिणमा गोलबस्ती सम्म अर्को आदेश जारी नभएसम्म करफ्यू लगाइएको छ । प्रदर्शनकारीले प्रदर्शन जारी राखेका छन् ।

















