हेवाखोलामा बेलिब्रिजको सामान आउने टुंगो नभएपछि पेनस्टक पाइप राखिँदै
ताप्लेजुङ, असार २१ गते ।
वर्षा र बाढी बढ्नेबित्तिकै ताप्लेजुङ, पाँचथरको याङवरक, हिलिहाङ र फालेलुङका बासिन्दालाई हेवाखोला डाइभर्सनको चिन्ता हुन्छ । यहाँको डाइभर्सन बग्नेबित्तिकै यातायात ठप्प हुन्छ ।
ढुवानीका साधनको त विकल्पै हुँदैन । ठूलो वर्षा हुनासाथ यी क्षेत्रका नागरिकको पहिलो चासो र चिन्ता यही खोला हुने गरेको छ । बेलिब्रिज निर्माणको अन्तिम चरणमा पुगेर भत्किएपछि भौतिक मन्त्रालयले छानबिन समिति बनाएको थियो । समितिको अध्ययनपछि यही ठाउँमा बेलिब्रिज बनाउने निर्णयमा सरकार पुगेको छ ।
सडक डिभिजन कार्यालय इलामका यही क्षेत्रका सुपरभाइजर डम्बर मिश्रका अनुसार बेलिब्रिजको सामान खोल्ने काम सकिएको छ । सामान आउने विषय भने अनिश्चित छ । बिग्रिएको सामान भारतको कम्पनीले दिनुपर्छ । भारतीय कम्पनीले कहिले सामान दिन्छ ठेकदार कम्पनी निश्चित छैनन् । बाढी आए हेवाखोलाको डाइभर्सन जतिबेला बग्ने र बगाउने भएकाले हाइड्रोपावर कम्पनीसँगको समन्वयमा पेनस्टक पाइप ठूलाखाले फलामे पाइप राख्ने तयारी भएको छ । चारवटा ठूला पाइपराखे यहा आउने पानी त्यसको भित्रबाटै जाने बुझाइ प्राविधिकको छ । एक प्राविधिकले भने, ‘चारवटा ठूला पेनस्टक राख्ने र त्यसलाई बग्न नदिन एकअर्काबीचको वेल्डिङ गर्ने तयारी भएको छ ।’
दुईवटा पेनस्टक पाइप हेवाखोलामा झारिसकिएको र थप दुईवटा झार्ने तयारी छ । ताप्लेजुङ र पाँचथरमा बन्दै गरेका हाइड्रोपावर कम्पनीले एकएक वटाका दरले उपलब्ध गराएको आफूले सुनेको तर यकिनचाहिँ नभएको मिश्र बताउँछन् । बेलिब्रिजको सामान आइपुगे जडानका लागि भने धेरै समय लाग्दैन । १५ दिनसम्ममा जडानको काम सकिन्छ । यसअघि पनि १३ दिनमा जडान अन्तिम चरणमा पुगेको थियो । तर त्यहीबेला भत्कियो ।
पेनस्टक पाइप राखेपछि बाढीले ठूल्ठूला रुख नै बगाएर ल्याए मात्रै क्षति पुग्ने रेमिट हाइड्रोका इन्जिनियर मुकुन्द पोख्रेल बताउँछन् । मुढाहरू आएर तेर्सिएर बसे भने बेलिब्रिजजस्तै बगाउने जोखिम हुन्छ । अन्यथा ससानो बाढी बिगार्दा मर्मत गर्दै यातायात चलाउन सक्ने सम्भावना हुन्छ ।
असार मसान्तमा सक्ने गरी दोभान–सुपर सौगात–लाइट बिल्डर्स जेभिले बेलिब्रिजको ठेक्का लिएको थियो । जडानको अन्तिम चरणमा पुल भाँचिदा तीन जना मजदुरको मृत्यु भयो भने तीन जना घाइते भए । ७० मिटर लामो तथा ४ दशमलव २५ मिटर चौडाइ भएको ब्रिजको काम ८० प्रतिशत सकिएको थियो । भाँचिएपछि २० प्रतिशत सामाग्री बिग्रियो ।
भारतको मोडुल ब्रिज उत्पादक गार्डेन रीच सिपबिल्डर्स एन्ड इन्जिनियर्स लिमिटेड बेलिब्रिजमा प्रयोग हुने सामाग्री उपलब्ध गराएको थियो । नेपालमा ५० मिटरसम्मका बेलिब्रिजमात्र जडान हुने गरेकामा यो ७० मिटरको बन्दै थियो यसको नियमन भारतकै इन्जिनियर तथा प्राविधिकले गर्दै आएका थिए । २०८० सालमा यहाँको पुल बगाएपछि बेलिब्रिज राखिएको थियो । २०८१ असोजमा बेलिब्रिज पनि बगाएपछि लामो मोडुलर ब्रिज जडानको क्रममा रहेको थियो । साभार कान्तिपुर अनलाइन ।

















